![]() |
श्रावण २८, २०७३- कुप्रो शरीर, लठ्ठीको सहारा । न कोही सहयोगी छ, न त उनीसँग कानुनका विषयमा जानकारी राख्ने शिक्षा नै । तर पनि उनको आँखा र बोलीमा देखिने संकल्प गज्जबको छ । अधिकार प्राप्तिका लागि सन्तोला पाध्या ३७ वर्षदेखि अदालत धाइरहेकी छन् ।
कुरो २०३६ सालतिरको हो । अघिल्लो वर्ष मात्र उनका पति परलोक भएका थिए । छोरीको विवाह भइसकेको थियो । सन्तोला पाध्यालाई भेट्न छिमेकी विष्णुभक्त पाध्या घरमा आए । अब तिम्रो कोही छैन, हामीले तिम्रो हेरचाह गर्छौं, पालनपोषण गर्छौं, केही चिन्ता नगर भनेर फकाए । बदलामा भएभरको सम्पत्ति आफ्नो नाममा गर्नुपर्ने सर्त राखे । सन्तोलाले यो सर्त ठाडै अस्वीकार गरिन् । फकाउँदा नमानेपछि उनलाई धम्क्याउन थाले । उनले प्रतिवाद गरिन् । भनेकी थिइन्, ‘मेरा श्रीमान्को अंश म जसरी पनि भोग गर्न सक्छु, तिमीहरू टाउको नदुखाऊ ।’ यस्तै ठाकठुक चलिरहेको थियो ।
एक रात विष्णु पाध्या र उनका आफन्त एक्कासी सन्तोलाको घरमा घुसे । एक जनाले उनको मुख हातले च्याप्यो । अरूले कुट्न थाले । उनी बेहोस भइन् । ‘मरी भनेर मलाई गाउँ नजिकैको खोलामा फालेछन्,’ उनले भनिन्, ‘मेरो भाग्य त्यति कमजोर रहेनछ ।’ उनलाई अर्धमृत फेला पारेर नजिकै अर्काे गाउँकी एक महिलाले बचाएको घटना फिल्मी कहानी जसरी उनले सुनाइन् । त्यसयता उनको गाउँमा बस्न सक्ने अवस्था भएन । सबै सम्पत्ति छिमेकीले कब्जा गरिसकेका थिए । निरक्षर उनी न्याय माग्दै जिल्लाका विभिन्न कार्यालय गुहार्न थालिन् । ‘कति त पागल भन्थे । कसैले जिस्क्याएर भेटेरेनरी कृषि कार्यालयमा पनि न्याय पाइन्छ भनेर पठाउँथे,’ उनले विगत सम्झिइन् ।
करिब चार वर्ष उनले न्याय दिने कार्यालय खोज्दैमा बित्यो ।
२०४० सालतिर कुनै सहयोगीको मद्दतले जिल्ला अदालतमा उनले सम्पत्ति जफतसम्बन्धी मुद्दा दर्ता गराइन् । मुद्दा चलिरहेको थियो । ०४९ सालमा भएको नापीमा कर्मचारीसँग मिलेर उनको सबै जग्गा विपक्षीले आफ्नो नाममा दर्ता गराइसकेका रहेछन् । उनलाई थप कानुनी झन्झट आइलाग्यो । अदालतले उनको पक्षमा फैसला गरे पनि त्यसअघिको सम्पत्ति नछुट्टिएका कारण उनले पुन: दर्ता
बदर गरी आफ्नो नाममा जग्गा दर्ता गर्न अर्काे मुद्दा हाल्नुपर्यो ।
बदर गरी आफ्नो नाममा जग्गा दर्ता गर्न अर्काे मुद्दा हाल्नुपर्यो ।
यो मुद्दा सर्वाेच्च अदालतसम्म पुग्यो । बझाङजस्तो विकट भूगोलमा जन्मेकी उनले यसबीचमा पाएको पीडा अवर्णनीय छ । ‘बझाङबाट दीपायल हिँडेरै जानु पथ्र्यो,’ उनी भन्छिन्, ‘गाउँ–गाउँमा चामल माग्दै फुकै चपाएर पाँच वर्षसम्म ओहोरदोहोर गरें ।
कति रात भोकै जंगलमा सुतें भन्ने हिसाब छैन ।’ करिब १७ वर्षको संघर्षपछि ०६७ सालमा सर्वाेच्च अदालतले उनको पक्षमा फैसला गर्यो । उनले जग्गा पाइन् । उनले अहिले सबै जग्गा छोरीको नाममा दर्ता गरिदिएकी छन् ।
तर, उनको लडाइँ सकिएको छैन ।
आफूले बस्न नपाई पतिले छाडेर गएको घर भत्कियो । घरभित्रको श्रीसम्पत्ति केही पनि उनले चलाउन पाइनन् । उनी अहिले यसैको खोजीमा लागेकी छन् । पुन: आफ्नो घर र त्यसमा भएको सम्पूर्ण सम्पत्ति भराई पाउन उनी अदालतमा मुद्दा हाल्ने तयारीमा छन् । भन्छिन्, ‘बरु लड्दालड्दै मरूँला, मेरो हक एउटा पनि छोड्नेवाला छैन ।’
१९८७ सालमा जन्मिएकी यी ८६ वर्षीयाको साहस देखेर अदालतका कर्मचारी पनि चकित छन् । जिल्ला अदालतमा झन्डै ४० वर्ष बिताएका एक पूर्वकर्मचारी धर्मराज खड्का भन्छन्, ‘त्यसबेला यहाँका महिला अरूसँग बोल्न पनि सक्दैनथे । यी वृद्धा निरक्षर भएर पनि आफ्नो हक लिन सफल हुनु ठूलो कुरा हो ।’ हक्की स्वभावकी सन्तोलाले थपिन्, ‘तपाईंहरू हेर्दै जानुहोला, मुद्दाको टुंगो नलाग्दासम्म म
मर्ने छैन ।’
मर्ने छैन ।’
![]() |

0 comments:
Post a Comment