![]() |
श्रावण २९, २०७३- बर्दिया गुलरियाबाट आएको बस एकाबिहानै नेपालगन्जमा रोकियो । ५४ वर्षीया गीता सुनार हतार–हतार ओर्लिइन् । साथमा थिइन् छोरी अनिता । उनीहरूका पाइला हस्याङफस्याङ गर्दै भेरी अञ्चल अस्पतालतिर लम्किए ।
चालीस किलोमिटर टाढाबाट सार्वजनिक बसमा डेढ घण्टा लगाएर आइपुगेकी उनलाई एउटै कुराको हतारो थियो, डाक्टरलाई देखाउने पुर्जा लिने । छिटो हुन्छु भनेर आएको, पहिल्यै पुर्जाको भीड लागिसकेको थियो । प्रचण्ड गर्मीको छिप्पिँदो तापमा लाइनमा उभिएका सर्वसाधारणहरू असिनपसिन थिए ।
आमाको पुर्जाका लागि त्यही हारमा उभिएकी अनिता पसिनाले निथु्रकै भिजेकी थिइन् । ‘शीतलमा लाइन लाग्ने व्यवस्था मिलाउन पाए हुने हो,’ अस्पतालतिर हेर्दै भीडमा कोही–कोही बोलिरहेका थिए । गीता पित्तथैलीको पथरी झिक्ने शल्यक्रियाका लागि सुझाव लिन आएकी थिइन् । साढे ८ बजेदेखि ओपीडी सेवाको पुर्जा खुल्छ । त्यसको निकै अघिदेखि काउन्टरमा लाम लाग्छ ।
सरकारी अस्पतालमा नि:शुल्क उपचार भनिएको छ । तर, यहाँ नयाँ बिरामीले १० र पुरानोले ५ रुपैयाँ तिरेको पुर्जा लिनैपर्छ । पैसाभन्दा पनि नेपालगन्जको उखरमाउलो गर्मीमा घण्टौं लाग्ने लाम पीडादायी देखिन्छ । अनिता त्यही लाममा त्यस्तै पीडा भोगिरहेकी थिइन् । पुर्जा त मिल्यो, बिरामीको चापका कारण जाँचका लागि फेरि पालो कुर्नु पर्यो । चिकित्सकको सहयोगीले नाम बोलाएपछि पालो आएको बुझ्नुपर्छ । ओपीडीमा चिकित्सकहरू १० बजे आउने समय तोकिएको छ । गीता र अनिताको पर्खाइ डाक्टरको कोठातिर नियाल्दै फेरि अस्पतालको एक छेउमा भयो । ‘बिहानै नआए डाक्टरसँग भेट्न पालो नपाइने, चाँडो आए यसरी घण्टौं कुर्नुपर्ने बाध्यता रहेछ,’ गीताले कान्तिपुरसँग भनिन्, ‘सरकारी अस्पतालमा धेरै झन्झट बेहोर्नुपर्ने र समय लाग्ने रहेछ । दिनभरि कुर्नुपर्ने र यताउता दुगर्नुपर्ने बाध्यताकै कारण होला पैसा भएका बिरामीहरू निजी अस्पतालमा जाँदा रहेछन् ।’
भेरी अञ्चल अस्पताल मध्य तथा सुदूर पश्चिमकै ठूलो विशेषज्ञ अस्पताल हो । यहाँ दैनिक पाँच सयभन्दा बढी सर्वसाधारण उपचारका लागि आउँछन् । तर, विशेषज्ञ चिकित्सक अभाव हुँदा बिरामीहरू घण्टांैसम्म पालो कुर्न बाध्य छन् । अधिकांश बिरामीहरू स्वास्थ्य जाँचका लागि अर्को दिन अस्पताल आउनुपर्ने बाध्यता छ । कारण– अस्पताल प्रशासनले बिहान १० देखि साढे २ बजेसम्म मात्रै बिरामी जाँच्ने नियम बनाएको छ ।
‘घण्टौं कुरेपछि जाँच गराउँदा डाक्टरले एक्सरे गराउन लेखिदिए । एक्सरेमा पनि उत्तिकै भीड थियो । समयमै रिपोर्ट देखाउन सकिने आसले बाहिर गएर एक्सरे गराएँ’, गीताले सुनाइन्, ‘धन्न रिपोर्ट देखाउन भ्याएँ । डाक्टरले अपरेशन गर्नुपर्ने भने । त्यसका लागि पनि पालो कुर्नुपर्ने भयो ।’
अस्पतालले छोटो समय मात्र सेवा दिँदा टाढाबाट आउनेहरू बढी मर्कामा पर्ने गरेका छन् । एक दिन पुर्जा काटेर स्वास्थ्य जाँच गराउने र अर्को दिन रिपोर्ट देखाउन आउनु पर्दा आर्थिक भार खेप्नु परेको छ । त्यही रोग जचाउन गीता आएको यो पहिलोपल्ट होइन । सधैं झन्झट यस्तै बेहोर्छिन् । ‘मेरो पित्तमा रहेको पथरी देखाउन तीन/चारपल्ट आइसकें । कहिले एक्सरे बिग्रिएको छ भनेर बाहिर पठाए । कहिले रिपोर्ट देखाउन पाइँदैन । घरबाट अस्पताल आउँदाजाँदै झन् बिरामी पर्ने भइसक्यो,’ उनले भनिन् । यो अस्पतालमा शुक्रबार साढे ८ देखि ११ बजेसम्म र अन्य दिन साढे ८ देखि १२ बजेसम्म पुर्जा काट्न सकिन्छ । शनिबार सार्वजनिक बिदा हुन्छ । दिउँसो अढाई बजेसम्म चिकित्सकले बिरामी जाँच र रिपोर्ट हेर्छन् । पुर्जा काट्न दुई लाइन मात्र राख्ने गरिएको छ । थप काउन्टर राख्न सक्ने हो भने सर्वसाधारणले सास्ती खेप्नुपर्ने थिएन ।
अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले जनशक्ति अनुसारको सेवा निरन्तर दिँदै आएको दाबी गरे । ‘बिरामीको चाप धेरै छ, चिकित्सक कम भएका कारण केही ढिलो हुन सक्छ,’ उनले भने, ‘तर, उपचारबाट कसैलाई वञ्चित गर्ने काम भएको छैन । पहिलेभन्दा अस्पतालमा सेवाको गुणस्तर निकै सुधार आइसकेको छ ।’ सरकारी अस्पताललाई सरकारले सुविधासम्पन्न बनाउन नसक्दा निजी अस्पताल फस्टाइरहेका छन् । त्यस्तै, झन्झटिलो र पालो कुर्नुपर्ने बाध्यताका कारण महँगो भए पनि नेपालगन्जमा खोलिएका निजी अस्पतालमा बिरामीको संख्या बढदो छ । आर्थिक अवस्था कमजोर भएका कतिपय सर्वसाधारणलाई उपचारबाट वञ्चित हुनुपरेको छ । पैसा भएकाहरू भारतको लखनउमा गएर उपचार गराउनेको संख्या पनि कम छैन ।
त्यति मात्र होइन, यस अस्पतालमा हाडजोर्नी, नाक, कान, घाँटी रोगको उपचार गर्ने चिकित्सकको दरबन्दी नै छैन । अस्पतालले मेडिकल अफिसर र जुनियर चिकित्सकबाट सामान्य सेवा दिने गरेको छ । जब कि हाडजोर्नीका झन्डै डेढ सय र उत्तिकै संख्यामा नाक, कान, घाँटीका बिरामी आउने गरेका छन् । तिनको सामान्य चेकजाँच मात्र हुने र थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरूले बताए । पर्याप्त बस्ने ठाउँ अभाव हुँदा बिरामी र कुरुवा भुइँमा बसेका देखिन्छन् ।
स्वास्थ्य जाँच गराएकै दिन रिपोर्ट देखाउने व्यवस्था मात्रै गर्ने हो भने सरकारी अस्पतालप्रति सर्वसाधारणको विश्वास अझ बढ्ने गीताको सुझाव छ । ‘बिरामी उपचार पाउने आसमा अस्पताल आउँछन् । तर, त्यसलाई एक घण्टासम्म पर्चाको लाइनमा उभिनुपर्छ । डाक्टर कति बेला आउने हो निश्चित छैन । ल्याब, एक्सरेको रिपोर्ट पनि देखाउन नपाएर सास्ती खेप्नुपर्छ,’ उनले भनिन्, ‘बिरामीलाई झन् बिरामी पार्ने काम गर्नु भएन ।’
![]() |

0 comments:
Post a Comment