![]() |
सिन्धुपाल्चोक प्रणाली सुदृढिकरण तथा विद्युत् विस्तार आयोजना मार्फत आगामी तीन वर्षभित्र रु १० करोड बजेट खर्च गर्न बोलपत्र समेत आह्वान भइसकेको छ । ठेक्का स्वीकृत भएपछि डेड महिनाभित्र सम्झौता गरी काम सुरु गरिने वितरण प्रमुख शर्माले बताउनुभयो ।
पहिलो वर्ष लामोसाँघु सव–स्टेसनदेखि बाह्रबिसेसम्म, लामोसाँघुदेखि बलेफी र लामोसाँघुदेखि ठूलोपाखरसम्म लगिएको ११ हजार भोल्टको हाइटेन्सन लाइनमा कभर कन्डक्टर अर्थात कालो तार टाँगिने कार्यक्रम रहेको छ ।
त्यसको लागि १५ हजार कालो तार आवश्यकपर्ने र सो को व्यवस्था गरिने छ । जिल्लाभरी ४०० लोडसेन्टर रहेको र २८ लोडसेन्टरमा आयोजनाले गर्ने र १७ लोडसेन्टरमा विश्व बैकले बनाउने बताइएको छ ।
हाल फिडरको दुरी ज्यादै टाढा भएकोले एक ठाउँमा विद्युत् लाइन फल्ट हुँदा पत्ता लगाएर विद्युत् आपूर्ति गर्न लामो समय लाग्ने हुँदा उपभोक्ताले समस्या भोगिरहेका छन् । सदरमुकामदेखि दक्षिणमा रहेको ठोकर्पा गाविसदेखि हिमाली क्षेत्रको सेलाङ, गोल्चे र गुम्बा गाविससम्मको एउटै फिडर रहेको छ । समस्या समाधान गर्न ती दुबैको बीचमापर्ने चौतारा नगरपालिका– ५ कुभिन्डेको बाँसपाटीमा छुट्टै सव– स्टेसन बनाइने भएको छ ।
आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भइसकेको छ । जिल्ला विकास समितिले पनि काठका मक्कीसकेका पोल विस्थापित गरी दुर्घटना कम गराउन आर्थिक वर्ष ७२÷७३ को बजेटबाट एक हजार ५०० फलामे पोल खरिद गरेको छ ।
जिविसले पनि प्राधिकरणसँग समन्वय गरी काम गरेमा खरिद गरिएका फलामे पोलको प्रत्यक्ष नतिजा देखिने प्रमुख शर्मा बताउनुहुन्छ । हाल जिल्लाभरी गाडिएका अधिकांश पोल स्थानीय सल्ला र चिलाउने जातका काठ प्रयोग गरिएको छ । त्यस्ता खम्बा कम टिकाउ हुने र खम्बाको अभावमा चारवटासम्म लाग्ने ठाउँमा पनि दुईवटा मात्र प्रयोग गरिएका कारण भार ग्रहण गर्न नसकेर चाँडै नै खम्बा भाँच्चिने गरेको छ ।
त्यसका साथै बढी भएकै कारण तार झोलिएर करेन्ट लाग्दा पैदल यात्रु धेरै सर्वसाधरणले अकालमा ज्यान गुमाएका छन् । कमसल खालका खम्बा एकदेखि अर्को खम्बाको बीचको दुरी टाढा रहेको र त्यसैमा ११ हजार भोल्टको मुख्य लाइन लगिएकै कारण २०७१ साल मङ्सिरमा गुडिरहेको यात्रु बसमा करेन्ट लाग्दा जिल्लाको हिमाली क्षेत्रमापर्ने बरम्ची गाविसमा घटनास्थलमा चार जनाको मृत्यु भएको थियो । सो घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए ।
जिल्लाका कतिपए ठाउँमा काँचो रुखमा फलामे डिआइरन राखेर नाङ्गो तारसमेत लगिएको छ । प्रत्येक गाविसले जिविस र गाविसबाट बजेट निकासा गरी विद्युतीकरणको लागि प्रधिकरणको समन्वय बिना कमसल खम्बा गाडी विद्युत् लाइन लगिएको छ । अधिकांशले मिटर नराखी हुक राखेर बत्ती बाल्ने गरेको र फर्निचर कारखाना तथा कुखुरापालन व्यवसाय गरेका कारण बढी दुर्घटना हुनगएको नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रको दाबी छ ।
जिल्ला प्रहरी केन्द्रका अनुसार जिल्लामा आर्थिक वर्ष ६८÷६९ देखि ७३÷७४ को साउन महिनाम गरी करेन्टबाट ३४ जनाले ज्यान गुमाएका छन् । हाइटेन्सन लाइनको तार चुँडेर बाटो हिँडिरहेको अवस्थामा, उच्च विद्युत् प्रवाहले मिटर पड्केर घरमा सुतिरहेको अवस्थामा, लत्रिएको तार छोइएर, पोलको टेवाको लागि गाडिएको स्टेक लाइनमा करेन्ट लागेर तथा सडकमा गाडिएका कमसल खम्बा भाँचिएर करेन्ट लाग्दा उनीहरुले ज्यान गुमाएको उल्लेख गरिएको छ ।
![]() |

0 comments:
Post a Comment