'ज्ञानेन्द्र शैलीमा गराइएको निर्वाचन हामी मान्दैनौं'

श्रावण ३०, २०७३- नेविसंघको जारी महाधिवेशनमा प्रतिनिधि विवादले पुन: नयाँ मोड लिएसँगै मंगलबार हुने भनिएको निर्वाचन अनिश्चितता तर्फ धकेलिएको छ । एकातर्फ पौडेल पक्षले निर्देशन समितिमा भएको सहमति र निर्णय विपरित मतदाता नामावली प्रकाशित भएको आरोप लगाइरहेका छन् भने अर्कोतर्फ अनशन बसेकै भरमा प्रतिनिधि थप्न नहुने केही विद्यार्थी नेताहरुको अडान रहेको छ । 
नेविसंघको प्रतिनिधि विवाद निर्देशन समितिले मिलिसकेको बताए पनि निर्देशन समितिकै दुई सदस्यले नै पहिले भएको समझदारी विपरित मतदाता नामावलीमा हेरफेर गरिएको बताएपछि प्रतिनिधि विवाद पुन: चर्किएको हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमानसिंहको निवास चाक्सीबारीमा बसेको नेताहरुको बैठकले पूर्व सहमति विपरित मतदाता नामावालीमा धेरै हेरफेर रहेको निश्कर्ष निकालेको स्रोतले बताएको छ । 
सो बैठकपछि पौडेल पक्षबाट निर्देशन समितिमा प्रतिनिधित्व गरेका दुई सदस्यहरु गुरुराज घिमिरे र गोविन्द भट्टराईले मतादाता नामावलीमा हेरेफेर भएको दाबी गर्दै प्रेस विज्ञप्ती निकालेका छन् । 
प्रेस विज्ञप्तीमा भनिएको छ– करिब दुई वर्ष अगाडि बनेको निर्देशन समितिले निर्णय गरेका ६४ जिल्लाका मतदाता सूची यथावत कायम राखी विवादित बाँकी ११ जिल्ला र केही क्याम्पसहरुको मतदातालाई अन्तिम रुप दिई प्रकाशित गर्ने निर्णय वर्तमान निर्देशन समितिले गरेको हो । यस विपरित अहिले प्रकाशित मतदाता नामावलीमा धेरै हेरफेर भई विवादित बन्न पुगेको छ । निर्देशन समितिमा भएको सहमति र निर्णय अनुरुप विवादित नामावली सच्याएर मात्र निर्वाचन प्रकृया अघि बढाउनु पर्दछ ।
यस्तै नेविसंघका नेताहरु दीपक भट्टराई लगायत निलकण्ठ रिजाल, क्षितिज भण्डारी, मनोज आचार्य, विनिता अधिकारी, पदमराज पन्थले आजै एक पत्रकार सम्मेलनको आयोजना गरी मतदाता नामावलीमा दाखिल भएका फर्जी मतदाता नहटाई निर्वाचन भए त्यस विरुद्ध संघर्षमा उत्रने बताएका छन् ।
केही दिनअघि निर्देशन समितिका संयोजक प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेर नेविसंघको महाधिवेसनमा ३४६० प्रतिनिधि हुने बताएपनि आज वेबसाइटमा सार्वजनिक भएको मतदाता नामावलीमा ३७६० जनाको नाम सार्वजनिक भएपछि विवाद बढेको दाबी एक विद्यार्थी नेताले गरे । निर्देशन समितिमा प्रकाशशरण महतकाे संयाेजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेका थिए । 
‘वास्तविक नेविसंघ प्रतिनिधि भनेको मात्र २३३८ हो । तर आफ्नो पक्षका उम्मेदवारलाई जिताउनकै लागि त्यसलाई ३४६० पुर्‍याइयो । अहिले ३७६० को नाम सार्वजनिक भएको छ,’ नेविसंघमा अध्यक्षका प्रत्यासी दीपक भट्टराईले फोनमा कान्तिपुरलाई भने, ‘यसरी बलजफ्ती गराइएको महाधिवेशनलाई हामी मान्दैनौं । रातारात फर्जी उम्मेदवार बनाएर आफ्नो उम्मेदवारलाई जिताउने हो भने महाधिवेशन नै किन गर्नुपर्‍यो ?’
उनको अनुसार अहिले करिव १४ सयका हाराहारीमा नेविसंघमा फर्जी मतदाता बनाइएका छन् । ‘आमरण अनशनको नाममा प्रतिनिधि थपेर गरेको महाधिवेसन हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘सुरक्षाकर्मीहरु खटाएर ज्ञानेन्द्र शैलीमा गराइएको निर्वाचन हामी मान्दैनौं । शेरबहादुर देउवा सबै कांग्रेसीका सभापति हुनुहुन्छ । उहाँले कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन ।’
नेविसंघकाे महाधिवेशन गत अाइतबार भृकुटीमण्डपमा सुरु भएकाे थियाे । तर प्रतिनिधि विवादकै कारण लम्बिँदा अहिले याे पार्टी कार्यालय सानेपा सरेकाे छ ।



SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment