अब माओवादीमा २१ सय केन्द्रीय सदस्य

श्रावण २८, २०७३- माओवादी केन्द्रले १५ सय सदस्यीय केन्द्रीय समितिमा ६ सय सदस्य थप्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निजी निवासमा बसेको केन्द्रीय कार्यालय बैठकले २१ सय सदस्यीय पार्टी केन्द्रीय समिति बनाउने समझदारी बनाएको हो । बैठकका सहभागी नेताहरूले २१ सय भनिए पनि केही घटबढ हुन सक्ने बताएका छन् । 
केन्द्रीय सदस्यहरूले महाधिवेशन आयोजक समिति सदस्यको जिम्मेवारी बहन गर्ने जानकारी अध्यक्ष दाहालले बैठकमा दिएका थिए । पुस २३ गते गर्ने भनिएको पार्टी महाधिवेशन अर्को मितिमा हुने गरी स्थगित हुने सम्भावना रहेको पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । 'महाधिवेशन आम चुनावपछि गर्ने कि स्थानीय चुनाव र आम चुनावको बीचमा गर्ने भन्नेमा छलफल जारी छ,' उनले भने । 

अर्का नेता शक्तिबहादुर बस्नेतले महाधिवेशन सार्नेबारे बैठकमा छलफल भएको बताए । 'सरकारको पर्फर्मेन्स, आयोजक समितिको आगामी बैठक र कार्ययोजनाबारे बैठकमा कुराकानी भयो,' बस्नेतले भने, 'सरकारी कार्यसम्पादनमा पार्टी नेतृत्व व्यस्त रहने हुनाले महाधिवेशन सर्ने पक्काजस्तै छ ।' 
केन्द्रीय समितिको बैठक आगामी भदौ ११ मा गर्ने जानकारी अध्यक्ष दाहालको सचिवालयले दिएको छ । २१ सय सदस्य व्यवस्थापन गर्ने होटल, पार्टी प्यालेस नभेटेर माओवादीले भृकुटीमण्डपमा बैठक गर्ने निर्णय गरेको छ । यसअघि ११ सय केन्द्रीय सदस्य छँदासम्म माओवादीले बत्तीसपुतलीको एक पार्टी प्यालेसमा बैठक गरेको थियो ।

बैठक लाजिम्पाटमा
यसअघि लाजिम्पाटमै बस्ने गरेको पार्टी हेडक्वार्टर बैठक दाहाल प्रधानमन्त्री भएपछि बालुवाटारस्थित सरकारी निवासमा बसेको थियो । बिहीबार भने दाहालले बैठक पुरानै निवास लाजिम्पाटमा गराए । पार्टीको बैठक सरकारी निवासमा नगर्ने भन्ने सोचले लाजिम्पाटमा बसेको श्रेष्ठले बताए । 'नीति नै बनिसकेको होइन, तर सरकारी निवासमा नगरौं भन्ने हो,' उनले भने ।
बैठकका सहभागीले सरकारको सुरुवाती कामकारबाही ठिकै देखिएको र अब योजनाबद्ध काम अघि बढाउन सुझाव दिएको नेता बस्नेतले बताए ।

मन्त्री छानिएनन्
माओवादी कोटाबाट थप मन्त्री छान्ने जिम्मेवारी पाएका अध्यक्ष दाहालले शुक्रबारको हेडक्वार्टर बैठकमा नामावली सुनाउने भनिए पनि उनले केही दिन पर्खन आग्रह गरेको बेठक स्रोतले बतायो । कांग्रेसले केही दिन कुर्न भनेकाले ढिलाइ भएको भन्दै उनले मन्त्रिपरिषद् बिस्तारका कारण सरकारी कामकारबाहीमा शिथिलता आउन नदिने बताएका थिए ।
 शर्माको राजीनामा
संसदको सार्वजनिक लेखा समिति सभापति जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसदमा लेखा समिति सामान्यतः प्रतिपक्षी पार्टीको नेतृत्वमा रहने भन्दै आफूले राजीनामा दिएको शर्माले प्रस्टयाए । यसअघि एमाले माओवादी गठबन्धनको सरकार छँदा भने शर्मा नै सभापति थिए । उनी माआवादी हेडक्वार्टर सदस्यसमेत हुन् ।

माओवादी स्रोतले शर्माको राजीनामालाई उनको सत्तारोहण तयारीका रूपमा अथ्र्याएको छ । उनी माओवादीबाट मन्त्रीका स्वाभाविक दाबेदार रहे पनि समानुपातिक प्रतिनिधित्वमा महिला, मधेसी, जनजातिलगायत पर्ने क्रममा छुट्नसमेत सक्ने आकलन भइरहेका बेला राजीनामा आएको हो । उनी यसअघि अर्थमन्त्रीका आकांक्षी रहे पनि कृष्णबहादुर महराले उक्त पद पाइसकेका छन् । शर्मा सञ्चार वा ऊर्जामन्त्री बन्ने चर्चा छ । 
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment