दृष्टिविहीन शारदाकलीको संघर्ष

श्रावण २९, २०७३- दुवै आँखाको दृष्टि गुमेको करिब २ दशक पुग्न लाग्यो । सुँघेर र छामेर मात्रै आहारा तथा बाटो पत्ता लगाएरै दिनचर्या चलेको छ । दैनिक कामकाज तथा खानेकुराको जोहोका लागि अरूको भर पर्नु पर्दैन । यो कथा कुनै व्यक्तिको नभई शुक्लाफाँटा वन्यजन्तु आरक्षस्थित एक पोथी हात्तीको हो ।
डेढ दशकअघि बर्दिया राष्ट्रिय निकुञ्जबाट शुक्ला सरुवा गरिएकी ५५ वर्षीया शारदाकलीले दुवै आँखा नदेखे पनि आफ्नो दैनिक कामकाज र आहाराको व्यवस्थापन आफैं गरिरहेको छ । कहिलेकाँही सफारी गर्न आएका पर्यटकलाई अन्य हात्ती सरह उसले पनि आरक्षभित्र सहजै घुमाउने गर्छ । पाको हात्ती भएकाले सफारी गर्ने पर्यटक पनि चढ्न सजिलो मान्छन् ।
‘अरूभन्दा शारदाकलीमा बस्न आनन्द आउँछ,’ अढाई दशकदेखि हात्तीसारमा कार्यरत दरोगा रामसिंह सुनाहाले भने, ‘यसले चाल कम दिन्छ र विस्तारै हिंड्छ, त्यही भएर पर्यटकहरू यसमै बस्न रुचाउँछन् ।’ उनका अनुसार उमेर बढी र दृष्टिविहीन भएकाले अन्य हात्ती खाली हुँदा भने शारदाकलीलाई काममा लगाइँदैन । कुनै दिन पर्यटकहरू बढी आएमा वा आरक्षभित्रै गस्ती गर्नुपर्ने भए मात्रै दृष्टिविहीन हात्तीलाई खटाइन्छ ।
आँखा नदेखे पनि सुँडका भरमा हिंड्ने तथा चर्न गएका बेला आफ्नो आहारा खोज्ने गर्छ । सुँडले सुँघेर हात्तीले डेढ/दुई किलोमिटरसम्मको अवस्था थाहा पाउन सक्छ । यही कारणले दृष्टि नभए पनि शारदाकलीले आफ्नो दिनचर्या सहजै पुरा गरेको छ । बिहान ४ बजे माउतेहरू सबै हात्तीलाई घाँस काट्न लैजान्छन् । ९ बजे घाँस काटेर फर्केपछि खाना खाएर चर्न लगिन्छ । त्यहाँबाट ५ बजे मात्रै फर्काइन्छ ।
‘यी सबै कामहरू दृष्टिविहीन भए पनि शारदाकलीले नियमित गरिरहेकै छ,’ पशु चिकित्सक कर्णबहादुर बमले भने, ‘उसले आफ्नो आहारा र चर्न अन्य हात्तीजस्तै सहजै गरिरहेकै छ ।’ यसबाहेक पर्यटक आएका बेला सफारी गराउने काम पनि दृष्टिविहीन हात्तीबाट भइरहेको उनले बताए । शुक्लाफाँटाका प्रचार प्रसारको अभावले हात्ती सफारी गर्ने पर्यटकको संख्या न्यून भए पनि संख्या कम भएकाले दृष्टिविहीनलाई पनि प्रयोग गर्नुपर्ने बाध्यता रहेको बमले बताए ।
यसरी गुम्यो दृष्टि
१८ वर्षअघि शारदाकलीको व्यवहारले आफू जोखिममा परेपछि माउते बर्दियाका सुखलाल चौधरीले उसका दुवै आँखामा औंला हालेर नियन्त्रणमा लिएका थिए । त्यही बेलादेखि आँखाको समस्या देखिएको र उपचार गर्दा पनि निको नभएपछि दृष्टि गुमेको दरोगा सुनाहाले बताए । ‘हात्तीले अटेर गरेपछि र ज्यानै जोखिमको अवस्थामा नियन्त्रणमा लिन दुवै आँखाभित्र औंला कोच्नुपर्छ,’ उनले भने, ‘शारदाकलीको पनि त्यही कारणले दृष्टि गुम्यो ।’ उनका अनुसार माउते चौधरीले त्यसपछि विभिन्न किसिमका जडीबुटी लगाएर उपचार गरे पनि निको भएन ।
दरोगा सुनाहाका अनुसार बर्दिया निकुञ्जभित्र चर्न गएका बेला जंगली हात्ती र गैंडाको बीचमा फसेका बेला शारदाकलीले माउतेलाई अटेरी गर्न थालेपछि नियन्त्रणमा लिन आँखाभित्र औंला कोच्नुपरेको हो । हात्ती दृष्टिविहीन अवस्थामै बर्दियाबाट शुक्ला ल्याइएको हो । ‘अझै पनि नयाँ माउते आए अटेरी गर्ने र फर्काइदिने गर्छ,’ शारदाकलीका माउते आनन्द सुनाहाले भने, ‘तर पर्यटकहरूलाई अहिलेसम्म कुनै अप्ठेरो गरेको छैन ।’
उनका अनुसार नयाँ माउते आएका बेला १/२ दिन अप्ठेरो गर ेपनि विस्तारै बानी परेपछि अन्य हात्तीभन्दा शारदाकली चलाउन निकै सहज हुन्छ । शुक्लाफाँटामा शारदाकलीसहित ४ ढोई र ३ भाले गरी ७ हात्ती छन् । पोथीमा रतनकली, सुर्तीकली र रूपकली तथा भालेमा लवप्रसाद, सिद्धप्रसाद र नारायणप्रसाद नाम गरेका हात्ती छन् । नारायणप्रसाद शुक्लाफाँटामै जन्मिएको हो भने शारदाकलीबाहेक अन्य चितवनबाट ल्याइएको हुन् ।
 ‘अहिले १० हात्तीको दरबन्दी छ तर यहाँ ७ मात्रै छन्,’ पशु चिकित्सक बमले भने, ‘यसले गस्ती तथा आरक्षभित्रको अन्य काममा केही समस्या भएको छ ।’ उनका अनुसार एउटा हात्तीका लागि ३ माउतेका दरले २१ जनाको दरबन्दी आवश्यक भए पनि १ जना मात्रै स्थायी र २० जना करारमा कार्यरत छन् ।


SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment