![]() |
श्रावण २९, २०७३- २०६६ मा झापामा भीषण बाढी आउँदा २६ जनाले ज्यान गुमाएका थिए । हालैको बाढी पनि विगतको जस्तै थियो तर क्षति निकै कम भयो । पूर्वसूचना दिने प्रणालीका कारण जनधनको क्षति घटेको हो ।
रेडक्रसले ‘प्राक्टिकल एक्सन’ को सहकार्यमा ‘अर्ली वार्निङ सिस्टम’ सुरु गरेकैले बाढीबाट हुने क्षति कम भएको छ । यसपटकको बाढीमा ९ जनाले ज्यान गुमाए । तीन बेपत्ता छन् । ‘तिनीहरूको मृत्यु बाढीले बगाएर भएको होइन,’ रेडक्रस झापाका सभापति लोकराज ढकालले भने, ‘लापरबाहीका कारण भएको हो ।’
प्राक्टिकल एक्सनका कार्यक्रम संयोजक कृष्ण बस्यौलाले पाँचथर–इलामको सिमाना राँकेदेखि झापासम्म ७ स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको बताए । राँकेसहित जितपुर, माइपोखरी, इलामबजार, कन्याम, शोक्तिम र मैनाचुलीमा हावापानी मापन केन्द्र राखिएको छ । खासगरी कन्काई नदीको क्याचमेनका (रिभर बेसिन) चार नदीलाई मुख्य आधार बनाएर केन्द्र स्थापना गरिएको बस्यौलाको भनाइ छ । सूचना केन्द्रहरूले नदी र क्षेत्रमा हुने मौसमको आद्र्रताको र वर्षाको रेकर्ड देखाउँछ । त्यसले खासगरी तल्लो तटीय क्षेत्रमा हुन सक्ने सम्भावित असरको खतरालाई कम गरेको छ ।
‘हावापानी केन्द्रले अटोमेटिक रूपमा रियल टाइम, तापक्रम, वर्षा, आर्द्रता के छ भन्ने देखाउँछ,’ बस्यौलाले भने, ‘वर्षा कति भयो ? यसले झापामा कति असर गर्छ ? भन्ने देखाउँछ ।’ उनका अनुसार यसले हरेक १५ मिनेटमा वर्षा, तापक्रम र आद्रता अद्यावधिक गर्छ । यो आपतकालीन कार्यसञ्चालन केन्द्रमा पुग्छ ।
कहाँ कति पानी पर्यो । यसले तल्लो तटीय क्षेत्रमा के असर गर्न सक्छ भन्ने पूर्वअनुमान गर्न सकिन्छ । केन्द्रले त्यस क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा जान सघाउ पुर्याइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सन् १९५६ मा नै इलाम बजारमा हावापानी केन्द्र स्थापना गरेको थियो । सन् २०१५ मा यसको स्तरोन्नति भयो । विगतमा मान्छेले नापेर जल तथा मौसम विज्ञान विभागमा रिपोर्ट पठाउँथ्यो । अहिले स्तरोन्नति गरेपछि क्षणक्षणमा अपडेट भइरहन्छ । सर्वसाधारणले पनि मौसममा आएको बदलाव क्षणभरमै थाहा पाउँछन् । ‘रियल टाइममा कहाँ कति पानी पर्यो, मौसम के हुँदैछ भन्ने कुरा तत्काल थाहा हुन्छ,’ बस्यौलाले भने ।
साठी मिलिमिटरभन्दा बढी पानी पर्नुलाई प्राविधिक भाषामा ‘थ्रेस होल्ड क्रस’ गरेको भनिन्छ । यसो हुँदा तल्लो तटीय समुदायलाई जानकारी हुन्छ र उनीहरू समयमै सुरक्षित स्थानतर्फ जान सक्ने अवस्था हुन्छ । ‘विगतमा पूर्वसूचना नपाएकै कारण धेरै सर्वसाधारणले बाढीबाट ज्यान गुमाएका थिए,’ रेडक्रस सभापति ढकालले भने, ‘अब बाढीकै कारण सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन ।’
ढकालका अनुसार इलाममा भीषण वर्षा हुँदा पानी बगेर खोलाको रूपमा बग्नलाई ४–५ घण्टा लाग्छ । त्यो समयसम्म सर्वसाधारणले सूचना थाहा पाइसकेर सुरक्षा अपनाइसकेका हुन्छन् । जसले धनधनको क्षति ज्यादै कम गर्छ । रेडक्रसका अनुसार कन्काई र आसपासका चार नदीको जोखिममा करिब ८ हजार घर छन् । ‘अहिले सूचना पाउनेबित्तिकै जोखिम क्षेत्रका सर्वसाधारण सुरक्षित स्थानमा जान तयार हुन्छन्,’ ढकालले भने, ‘ठूलो बाढी आउने सम्भावना देखिएमा अटोमेटिक साइरन बज्ने व्यवस्थासमेत गरिएको छ ।’
शरणमती गाविस ८ टप्पु गाउँमा कृष मुर्मुले पूर्वसूचना प्रणालीका कारण नदी आसपास क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण सुरक्षित बनेको बताए । ‘पहिले कतिबेला बाढी आउँछ भन्ने नै थाहा हँुदैनथ्यो,’ मुर्मुले भने, ‘अहिले त मिनेट–मिनेटमा बाढीको खबर थाहा भइरहेको छ ।’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले पूर्वसूचना प्रणालीले बाढीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्दै लगेको बताए ।
![]() |


0 comments:
Post a Comment