हुलाकी सडकको बेहाल, यातायात सञ्चालनमा समस्या,दुई लाख बासिन्दा प्रभावित

श्रावण ३१, २०७३- ट्रक चालक नारायण खत्रीलाई गुलरियाबाट पश्चिमतर्फको हुलाकी सडकमा गाडी गुडाउन सबैभन्दा बढी सकस लाग्छ । सवारी साधन चाँडै बिग्रने र हिलाम्मे सडकमा गाडी चलाउँदा हैरानी खेप्नुपरेपछि उनीमात्र होइन अधिकांश चालक हुलाकी सडकमा गाडी गुडाउन मान्दैनन् ।
जताततै खाडल सडकमा पानी पर्नासाथ आउजाउ गर्न नसक्ने, गर्मीमा धूलाले हैरानी भोग्नुपरेपछि चालकदेखि यात्रुलाई सास्ती हुने गरेको हो । वर्षायाम सुरु भएपछि गुलरिया–भुरीगाउँ र कोठियाघाट हुलाकी सडक खण्डको यातायात सेवा प्रभावित हुने गरेको छ ।

जताततै खाडलसँगै हिलाम्मे हुने भएपछि आउजाउमा कठिनाइ भएको कुसुम्बाबजारका डम्बर केसीले गुनासो पोखे । खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी रकम खर्च गरे पनि सडक जस्ताको त्यस्तै भएको उनले बताए । ‘बरु त्यही रकमले ग्रेडिङ गरी सडकसम्म पारेको भए सजिलो हुन्थ्यो,’ उनले भने ।

०७१ साल साउनको अन्तिम साता आएको बाढीले हुलाकी सडकमा पर्ने पुलपुलेसा र सडकमा क्षति पुर्‍याएको थियो । भारतीय ठेकेदार कम्पनीबाट निर्माणाधीन हुलाकी मार्गको ठेक्का तोडेपछि बाढीले भत्काएको सडक र पुल निर्माण अवरुद्ध भएको हो । बाढीले बगाएको सडक र पुल मर्मतका लागि अर्थ मन्त्रालयले बजेट निकासा नदिँदा पुनर्निर्माणमा ढिलाइ भएको छ ।

हुलाकी सडक आयोजनाका प्रमुख तुरन्त मण्डल सडक स्तरोन्नति र कालोपत्रे गर्न सरकारले रकम नदिएका कारण निर्माण हुन नसकेको बताउँछन् । दुई वर्षअघि बाढीले गुलरियास्थित सर्यु नदीको पुल भास्सिए पनि पुनर्निर्माण हुन सकेको छैन । पुलको ठेक्का भए पनि निर्माण अघि बढ्न सकेको छैन । 

बाढीले सर्यु नदीको पुल, अधिकांश सडक र भारत जाने सडक भत्काएको थियो । क्षतिग्रस्त सडकमा डराइडराई सवारी साधन चलाउनु परेको चालकको अनुभव छ । भारतीय सीमावर्ती मूर्तिहा–भुरीगाउँ हुलाकी सडक निर्माण गर्दागर्दर्ै जिभिआर कम्पनीका ठेकेदार बीचैमा काम छाडेर गएकाले काम हुन नसकेको हो ।

गत वर्ष फागुनमा नेपाली ठेकेदारले सडक निर्माणका लागि ठेक्का लिए पनि अर्थ मन्त्रालयले रकम निकासा नगरेकाले सम्झौता हुन सकेन । ठूलो वर्षा हुनासाथ आउजाउ नै ठप्प हुने स्थानीयले गुनासो पोखेका छन् । सडकमा दैनिक सयभन्दा बढी सवारी साधन गुड्ने गरेका छन् । हिउँदमा धूलो र पानी परे हिलोले आउजाउ गर्न सकिने अवस्था छैन ।

हुलाकी सडक २०७० फागुनसम्म सडक निर्माण गरी भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । ४१ करोडको लागतमा ठेक्का सम्झौता भएको उक्त सडक करिब चार वर्षअघि निर्माण सुरु भएको थियो । सभासद् सञ्जय गौतमले यसै वर्ष निर्माण हुने जानकारी हुलाकी आयोजनाको मुख्य कार्यालयले दिएको बताए ।

भारतीय ठेकेदारको सवारी साधन अलपत्र
हुलाकी राजमार्ग निर्माण कार्यमा प्रयोग हुने सवारी साधन तीन वर्षदेखि अलपत्र परेको छ । निर्माणको काम छाडेर सम्पर्कविहीन भएका भारतीय कम्पनी जेभीआरले झन्डै पाँच करोड मूल्यका सवारी साधन छाडेर गएका छन् । ठेकेदारले निर्माण छाडेर गएपछि एस्काभेटर, लोडर, ट्रिपर, रोलर, ट्रयाक्टर लगायतका सवारी साधन अलपत्र छन् । सानोश्री तारातालस्थित कुसुम्बा बजारमा रहेका अधिकांश सवारी साधनको सुरक्षा अभावमा पार्टपुर्जा समेत हराउन थालेको स्थानीयले बताए ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment