![]() |
श्रावण ३०, २०७३- पार्टी सरकारबाट बाहिरिएपछि बसेको एमालेको पहिलो स्थायी समिति बैठकले निर्वाचन हुन नदिने षड्यन्त्र गर्न थालिएको निष्कर्ष निकालेको छ । बैठकले अघिल्लो सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिकालाई नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएको छ,’ पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरेको बैठकको निर्णयमा भनिएको छ, ‘राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम जनसमुदायलाई अपिल गर्दै अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ ।’
बैठकमा अध्यक्ष केपी ओलीले सिंगो राष्ट्रका विरुद्ध षड्यन्त्र गर्ने उद्देश्यले नयाँ सत्ता गठबन्धन निर्माण भएको विश्लेषण सुनाएका थिए । उनले यो गठबन्धन अस्थिर हुने र धेरै नटिक्ने दाबी पनि गरेका थिए । ‘राजनीतिक र संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको छ । यसलाई चिन्न र चिर्न सक्नुपर्छ,’ ओलीको भनाइ थियो । संविधान कार्यान्वयनका लागि पार्टीले रचनात्मक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै तल्लो तहसम्म पार्टी सक्रिय बनाउनुपर्ने पनि उनले बताएका थिए ।
सरकारमा भएका बेला कतिपय पार्टी काम गर्न नसकिएको उल्लेख गर्दै ओलीले निर्वाचन केन्द्रित भएर अब तल्लो तहमा लाग्ने गरी पार्टी परिचालन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सरकारमा रहँदा पार्टीले आर्जन गरेको साखलाई सम्पतिको रूपमा प्रयोग गर्दै जनतासमक्ष एकताबद्ध भएर जानुपर्ने धारणा ओलीले राखे । बैठकका एजेन्डाहरू तय गर्ने समय लागेकाले आइतबार धेरै विषयमा छलफल भएन ।
स्थायी समितिको सोमबार पनि निरन्तर चल्ने बैठकका लागि विगतका कामको समीक्षा, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुन:संरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीहरूको पूर्णता, सल्लाहकार परिषद्मा सदस्य थप, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन र पार्टी प्रवेश गरेकाहरूको जिम्मेवारी व्यवस्थापनसम्बन्धी कार्यसूची तय भएका छन् । सबै एजेन्डामाथि सोमबारबाट छलफल सुरु हुने एमालेले उल्लेख गरेको छ ।
![]() |

0 comments:
Post a Comment