![]() |
श्रावण २७, २०७३- बोलिभियन युवती रोशी गुड्डी साउन १९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिइन् । भारतको नयाँदिल्ली हुँदै काठमाडौं आइपुगेकी उनको साथमा एउटा सुटकेस थियो, जसभित्र केही कपडा । भन्सारको सामान्य जाँचमा कर लाग्ने कुनै सामग्री फेला नपरेपछि सहजै विमानस्थलबाट बाहिरिइन् । पहिले नै बुक गरिएको होटलमा गएर बसिन् ।
२१ गते बेलुका साढे ७ बजे नेपाल एयरलाइन्सको नियमित उडानमा वारान्या काउपिकुल थाइल्यान्डबाट त्रिभुवन विमानस्थल उत्रिइन् । र, सोझै पुगिन् ठमेलमा बसिरहेकी रोशीको होटलमा । विमानस्थल उत्रिएलगत्तै उनलाई रोशी बस्ने होटलको नाम र कोठा नम्बर जानकारी दिइएको थियो । होटल पुगेर रोशीले ल्याएको सुटकेस लिइन् । दुवैले सुटकेस लिएको फोटो खिचे र बिदा भए । काठमाडौं घुमघाम सकेर २५ गते वारान्या रोशीले दिएको सुटकेस लिएर जब थाइल्यान्ड जान त्रिभुवन विमानस्थल पुगिन्, तब राति साढे ११ बजे लागूऔषध नियन्त्रण ब्युरोको नियन्त्रणमा परिन् ।
उनलाई सुटकेससहित कोटेश्वर प्रहरी कार्यालय पुर्याइयो । त्यहाँ उनको सुटकेस खाली गराएर पिँधको भाग काटा सेतो धूलो निस्कियो । लागूऔषध परीक्षण गर्ने किटमा राख्दा नतिजा आयो– कोकिन । सुटकेसमा ३ किलो ५४ ग्राम कोकिन भेटियो । यो कोकिन अन्तर्राष्ट्रिय लागूऔषधको बजारमा पुगेको भए ६ करोड ८० हजार रुपैयाँमा बिक्री हुने थियो ।
पक्राउको भोलिपल्ट वारान्याले ठमेलको होटलमा रहेकी युवतीले सुटकेस दिएको बताएपछि प्रहरी होटलमा पुग्यो । होटलमा रोशी नेपाली टुर गाइडसँग भेटिइन् । उनलाई त्यहीं पक्राउ गरियो ।
ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार रोशी र वारान्या दुवै कोकिन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य हुन् । ब्राजिल र थाइल्यान्डमा रहेका समूहका सदस्यले यी दुवैलाई हवाई मार्गबाट ब्राजिल हुँदै थाइल्यान्डसम्म कोकिन पुर्याउन भरिया बनाएका थिए । ‘काठमाडौंसम्म कोकिन ल्याउन ब्राजिलमा रहेका बोलिभियन नागरिक क्लाउडो निग्रोले रोशीको प्रयोग गरेको देखियो,’ डीआईजी चन्दले भने, ‘काठमाडौंबाट थाइल्यान्डमा कोकिन लैजान त्यहाँ रहेका नाइजेरियन रेम्मीले नेपाल पठाएको खुलेको छ ।’
क्याप्सुलदेखि माछाको बट्टासम्म
दक्षिणी अमेरिकी मुलुक ब्राजिल र पेरुमा बनेको कोकिनलाई अमेरिकी र युरोपेली मुलुकसम्म पुर्याउन ५ वर्षदेखि कोकिन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहले नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन् । रोशी र वारान्यालाई परिचालित गर्ने समूहले चरेस, हेरोइन ओसारपसारमा अपनाउने पुरानै शैली सुटकेसभित्र फल्स बटम (लुकाउने स्थान) बनाएर कोकिन नेपाल भित्र्याएका थिए । यस अगाडि पक्राउ परेकाले भिन्न–भिन्न शैली अपनाएको देखिन्छ ।
दक्षिणी अमेरिकी मुलुक ब्राजिल र पेरुमा बनेको कोकिनलाई अमेरिकी र युरोपेली मुलुकसम्म पुर्याउन ५ वर्षदेखि कोकिन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहले नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन् । रोशी र वारान्यालाई परिचालित गर्ने समूहले चरेस, हेरोइन ओसारपसारमा अपनाउने पुरानै शैली सुटकेसभित्र फल्स बटम (लुकाउने स्थान) बनाएर कोकिन नेपाल भित्र्याएका थिए । यस अगाडि पक्राउ परेकाले भिन्न–भिन्न शैली अपनाएको देखिन्छ ।
अन्य देशमा नक्कली स्तन र गर्भ बनाएर समेत कोकिन तस्करी प्रयास भएका घटना सार्वजनिक भएका छन् । नेपालमा यी दुई शैली जानकारीमा नआए पनि तस्कर समूहले कोकिन लुकाउने अन्य सबै उपाय अपनाएको भेटिएका छन् । पाँच वर्षको बीचमा क्याप्सुल, सिलप्याक माछाको डिब्बा, स्याम्पुको बोतल, ल्यापटप ब्याग र सुटकेसमा कोकिन ओसारपसार गरिएको फेला परेका छन् ।
२०६८ मा एक किलो कोकिन फेला पर्दा तयारी माछा प्याक गर्ने टिनको डिब्बामा भेटिएको थियो । २०६८ पुस १२ मा ब्युरोले पेरु, अर्जेन्टिना, कतार हुँदै नेपाल आएर पुन: मलेसिया हुँदै थाइल्यान्ड जान विमानस्थल पुग्दा सुपरेत्ता मेक्यान्तोसको झोलामा टुना फिसको बट्टा देखेपछि सामान्य शंकाका आधारमा नियन्त्रणमा लिई जाँच गर्दा कोकिन फेला परेको थियो । ‘नेपालबाट टुना माछा लैजानुको कारण नभएकाले उनी शंकामा परेकी थिइन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘माछाको बट्टा हल्लाउँदा आवाज नआएपछि खोलेर हेर्दा कोकिन भेटिएको थियो ।’
बट्टामा कोकिन तस्करी प्रयास असफल भएपछि तस्कर समूहले नयाँ जुक्ति निकालेको २०७० मा खुल्यो । फागुन ६ गते दुबई हँुदै काठमाडौंमा उत्रिएका नामिबियन रेमन्ड जुगु ओपेललाई ब्युरोले नियन्त्रणमा लिएर चिकित्सकीय परीक्षण गर्दा क्याप्सुल आकारका कोकिन निलेको खुलेको थियो । उनको पेटबाट २ सय ६९ वटा क्याप्सुल निकालिएको थियो, जसको तौल ५ किलो थियो ।
२०७१ जेठमा २ किलो ८ सय ग्रामसहित पक्राउ परेका फिलिपिनो क्रिस्टिना हारो र पाकिस्तानी आइसा हुसेनले स्याम्पु र कफीको बट्टा तथा सुटकेस समात्ने डन्डीमा कोकिन लुकाएका थिए । सोही वर्षको चैतमा ब्राजिलबाट ११ किलो कोकिन बोकेर नेपाल आइपुगेकी विनित जमाउद्दिनले ल्यापटप ब्यागमा कोकिन लुकाएकी थिइन् । ल्यापटप आकारमा कोकिन प्याक गरेर ल्यापटप ब्यागमा राखेर सहजै त्रिभुवन विमानस्थलबाट बाहिरिएकी उनी सोही ब्याग लिएर मलेसिया जान विमानस्थल पुग्दा पक्राउ परेकी थिइन् ।
ब्राजिल हुँदै काठमाडौंसम्म कोकिन बोकेर आउँदा जेठ १२ मा २ किलो ६ सय ग्राम कोकिनसहित पक्राउ परेको समूहले कोकिन लुकाउन माछा मार्न प्रयोग हुने डोरीको बन्डल प्रयोग गरेका थिए । ब्युरोले कोकिन बोकेर आएकी भेनेजुएलाकी यमरिस कारमिन, भारतीय नागरिक तोहिद खान, नेपाली दिलबहादुर गुरुङ र नाइजेरियन मोहम्मद लिमा डोबालाई पक्राउ गर्ने प्रहरी अप्रेसनको नाम नै ‘अप्रेसन फिस’ राखेको थियो । अनुसन्धानमा सो समूहलाई भेनेजुएलाकी क्याथराइन नामकी महिलाले सुरक्षा जाँच छल्न डोरीको बन्डलभित्र कोकिन लुकाएर पठाए पनि नेपालमा त्यति प्रयोग नहुने सामान बोकेर आउँदा शंका हुँदा समूह नै पक्राउ परेको थियो ।
गत चैत १५ मा २ किलो ७ सय ग्राम कोकिनसहित पक्राउ परेकी दक्षिणी अफ्रिकी एमपाथोनी मसानी र भारतीय मेर्सीले कोकिनलाई झोल बनाएर स्याम्पुको बोतलभित्र लुकाएका थिए । २०७३ जेठ १६ मा ३ किलो कोकिनसहित पक्राउ परेका चिनियाँ नागरिक चुन म्यान होले सुटकेसमै फल्स बटम बनाएर कोकिन ल्याएका थिए । बुधबार पक्राउ परेका २ महिलाले पनि सुटकेसकै शैली अपनाएर भन्सार छल्न सफल भए पनि सुरक्षाकर्मीको नजरबाट जोगिन सकेनन् ।
ब्युरोका एसएसपी गणेश केसीका अनुसार लागूऔषध तस्करीमा संलग्न समूहले सुरक्षाकर्मीलाई झुक्याउन भिन्न-भिन्न शैली अपनाएर लागूऔषध लुकाउने गरेका छन् । एक देशमा असफल भएको शैली प्राय: नदोहोर्याउने र फरक–फरक र जटिल उपाय अपनाउने गरेको उनले बताए । ‘सुटकेसमा फल्स बटम बनाएर लागूऔषध लुकाउने शैली निकै पुरानो हो, हिजोआज नयाँ समूहले मात्रै यो प्रयोग गर्छन्,’ उनले भने, ‘नेपालमै सिलबन्दी बोतलदेखि क्याप्सुलसम्म फेला परिसकेका छन्, जुन पत्ता लगाउनु निकै जटिल हुन्छ ।’
![]() |

0 comments:
Post a Comment