![]() |
माओवादी सशस्त्र द्वन्द्व चलिरहेका बेला २०६० सालतिर नेपाली सेनाको भैरवनाथ गणले ४९ जना माओवादी कार्यकर्तालाई बेपत्ता पा-यो । मानवअधिकारकर्मी र मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले पनि उक्त विवरण सार्वजनिक गरे ।
त्यसरी बेपत्ता पारिनेमध्येका एक थिए उदयपुर गाईघाटका लीलाराज आचार्य । आइतवार राजधानीको प्रज्ञा भवनमा भएको एक कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आचार्यकी आमा लक्ष्मीमायाले बेपत्ता छोराको लास वा सास दिन माग गरिन् ।
उदयपुर गाईघाट बस्ने ८२ वर्षीया लक्ष्मीमायाले यसअघि पनि पटकपटक प्रचण्डलाई भेट्ने प्रयास गरेकी थिइन् । तर उनको प्रयास सफल हुन सकेन । प्रधानमन्त्री दाहाल प्रज्ञा भवनमा जाँदैछन् भन्ने थाहा पाएपछि लक्ष्मीमाया आफ्ना जेठा छोरा वेदराज सहित त्यहाँ पुगिन् ।
जब प्रधानमन्त्री दाहाल कार्यक्रमबाट बाहिर निस्के, लक्ष्मीमाया शुरुमा चिच्याइन् । प्रधानमन्त्रीका सुरक्षा गार्डले लक्ष्मीमायालाई प्रधानमन्त्रीसँग शुरुमा भेट्न दिएनन् ।
त्यसपछि लक्ष्मीमाया झन् ठूलो स्वरमा रुने र चिच्याउने गर्न थालिन् । गाडीमा चढिसकेका प्रधानमन्त्री दाहाल लक्ष्मीमायाको चिच्याहट सुनेपछि गाडीबाट ओर्ले र उनका कुरा सुने ।
लक्ष्मीमायाले प्रधानमन्त्रीको हात समाउँदै छोराको लास वा सास दिन आग्रह गरिन् । प्रधानमन्त्री बनेका दाहाललाई यसअघि केही गरी पनि भेट्न नसकेको लक्ष्मीमायाले बताइन् ।
वेपत्ता पारिएका आफ्ना छोरा लीलाराज आचार्यको फोटो देखाउँदै आमा लक्ष्मीमाया
प्रचण्ड कार्यक्रमस्थलबाट बाहिरिनेबित्तिकै लक्ष्मीमाया रुँदै चिच्याइन् र आफ्नो कुरा सुनिदिन प्रचण्डसँग आग्रह गरिन् । २०६० सालमा काठमाडौंको चाबहिलबाट भाइ लीलाराजलाई पक्राउ गरिएको समाचार पत्रपत्रिकामार्फत आफूहरूले थाहा पाएको दाइ वेदराजले लोकान्तरलाई बताए ।
उनका अनुसार, पक्राउ परेको केही समयपछि भाइलाई भैरवनाथ गणले शिवपुरीमा बेपत्ता पारेको खबर बाहिर आएको थियो । त्यतिखेर उनका भाइ काठमाडौं उपत्यकाको टे«ड युनियन महासंघको केन्द्रीय सदस्य थिए ।
उनीसँगै माओवादी नेता हिमाल शर्मा र कृष्ण केसी लगायतलाई पक्राउ गरेर लगिएको थियो । शर्मा र केसीपछि रिहा भएका थिए । ‘भाइ लीला लगायत ४९ जनालाई भैरवनाथ गणले बेपत्ता बनाएको २०६२ सालतिर मानवअधिकारकर्मीबाट थाहा पाएका हौं,’ वेदराजले भने ।
उतिबेला भाइको खोजी हुन नसकेपनि अहिले प्रचण्ड स्वयं प्रधानमन्त्री भएका बेला चाहने हो भने लीलाराजको खोजी हुनसक्ने वेदराजको भनाइ छ । तर माओवादी नेताहरूले बेपत्ता माओवादी कार्यकर्ताको खोजबिनमा ध्यान नदिएको उनको गुनासो छ ।
प्रचण्डलाई धेरैपटक भेट्न खोज्दा पनि सम्भव नभएको र वास्ता नगरेको आचार्य परिवारको गुनासो छ । माओवादी कार्यालयमा गएर भेट्न खोज्दा प्रचण्डको सचिवको नम्बर दिइएको तर उक्त नम्बरमा सम्पर्क गर्दा वास्ता नगरिएको वेदराजले बताए ।
‘प्रचण्ड सात वर्षअघि प्रधानमन्त्री हुँदा पनि हामी पत्ता लगाउँछौं भन्ने जवाफ मात्र दिए,’ लक्ष्मीमायाले भनिन्, ‘अहिलेसम्म केही गरेका छैनन् । मलाई मेरो छोराको कि लास चाहियो कि सास । यसरी कतिदिन बस्ने?’
हेर्नुहोस् भिडियोः
![]() |

0 comments:
Post a Comment