![]() |
श्रावण ३१, २०७३- निजी क्षेत्रको लगानी रहेको सिम्रिक एयरलाइन्सले इजाजत–पत्र नविकरण नभएकै कारण शनिबारदेखि आफ्ना सबै उडान बन्द गरेको छ ।
चार वटा फिक्सविङ्ग विमानमार्फत उडान भर्दै आइरहेको सिम्रिकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार वर्षअघि लिएको इजाजतपत्रको एक महिना अघि म्याद सकिएको थियो । मन्त्रालय उच्चस्रोतका अनुसार, त्यसताका उसलाई गैरसैनिक हवाई उडान नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणले एक महिनाका लागि समय दिएको थियो ।
‘एक महिनाभित्र मन्त्रालयलबाट इजाजतपत्र नविकरण गर्छौं भनेपछि एक महिनाकालागि पत्र बनाइदिएका थियौं,’ प्राधिकरण स्रोतले भन्यो । ‘तर उस्ले अहिलेसम्म इजाजतपत्र नविकरण गरिसकेको रहेनछ शनिबारदेखि आफै सबै उडान बन्द गरेर जहाज ग्राउन्डेड गरेको खबर पायौं,’ बबरमहलस्थित प्राधिकरणको एक बरिष्ठ अधिकारीले भने ।
नियम अनुसार, मन्त्रालयको इजाजत बिना नागरिक उड्डयनसंग सम्वन्धित संस्था सञ्चालन गरी यात्रु/ कार्गो ओसारपोसार गर्नु गैरकानुनी मानिन्छ । सिम्रिक एयरलाइन्ससँग हाल दुइटा डोर्नियर र दुइटा बिचक्राफ्ट गरी चारवटा विमान छन् । यिनै विमानबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन (पर्वतीय) गरी दैनिक कम्तिमा २६ वटा उडान गर्थे । ‘उडान सुरक्षा (सेफ्टी) का कारणले नभई यसबेला विशुद्ध प्राशसनिक कारणले जहाज ग्राउन्डडेड गर्नुपर्यो,’ सिम्रिकका एक कर्मचारीले भने । जहाज र प्राविधिक विषयमा कुनै समस्या छैन, मन्त्रालयको इजाजतपत्र नविकरण नभएका कारण जहाज ग्राउन्डेड गर्नुपरेको ती कर्मचारीले बताए ।
यसैबीच सिम्रिकले मन्त्रालयलमा आवश्यक पर्ने सबै कागजात पुर्याइसकेकाले मंगलबार नयाँ मन्त्री आए नविकरण हुन सक्ने दाबी गरेको छ । ‘पहिलेकै मन्त्रीको पालामा सबै काम हुँदै थियो, एकाएक सरकार परिवर्तन भएपछि हाम्रो इजाजतको कार्य रोकियो,’ एक अर्का कर्मचारीले कान्तिपुरलाई भने । उनले मंगलबार मन्त्रिपरिषद विस्तार भए बुधबारदेखि उडान शुरु हुने सुनाए ।
निवर्तमान पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले भने, आफु मन्त्री हुन्जेल सिम्रिकको कुनै फाइल आफु कहाँ नआएको बताए । ‘सिम्रिकको कुनै फायल मेरोमा आएको कुनै मेमोरी नै छैन,’ पोखरलले भने । नेपालमा नागरिक उडानसँग सम्वन्धित इजाजपत्र दुईवटा निकायले दिन्छ । पर्यटन मन्त्रालय र उड्ड्यन प्राधिकरण (बबरमहल) ले दिने दुई इजाजतपत्र अनिवार्य हुन्छ । मन्त्रालयले दिने राष्ट्रिय इजाजत हो भने प्राधिकरणले दिने एअर अपरेटर्स सर्टीफिकेट (एओसी) अन्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) को मापदण्डमा आधारित इजाजत हो ।
यसैबीच, नागरिक उड्डयन प्राधिकरणले एकल इन्जिन विमान उडाउने एयर काष्ठमण्डपको प्राविधिक पक्ष अत्यत्तै कमजोर रहेको ठहर गर्दै उस्को एअर अपरेटर्स सटीफिकेट (एओसी) नविकरण गरेन । प्राधिकरणले एओसी नविकरण नगरेपछि अब काष्ठमण्डपले जहाज उडाउन नपाउने भएको छ । यो कम्पनीसँग हाल एउटा मात्रै एकल इन्जिन भएको विमान छ । एउटा विमान कालीकोटमा दुर्घटनामा परेपछि यो कम्पनीको व्यवस्थापन कमजोर हुँदै गएको छ भने यहा काम गर्ने अधिकाशं कर्मचारीले छाडेर अन्यत्रै गइसकेका छन् । ‘जहाज बिग्रेपछि मर्मत गर्ने इन्जिनियर नै नभएकाले हामीले यस्को अनुमति–पत्र रिन्यू गरेनौं,’ प्राधिकरणका एक अधिकारीले भने, 'यस्ले आफ्नो प्राविधिक पक्ष जबसम्म सुधार्दैन तबसम्म यस्ले नेपालमा कतैपनि उडान गर्न पाउने छैन ।' हाल यस्को एउटा जहाज नेपालगंजमा रहेको छ । त्यो जहाज पनि लामो समयदेखि बिग्रेकाले मर्मत भइरहेको छ ।![]() |

0 comments:
Post a Comment